संविधानका विवादित विषयमा सत्तासाझेदारले गरे छलफल

भदौ ७, काठमाडौँ – सक्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेबिच राज्यको पुनःसंरचना, शासकीय स्वरुप,लगायत संविधानका विवादित विषयमा सहमति खोज्न छलफललाई अघि बढाएका छन् । हिजोदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको दुई दलको बैठकमा शीर्ष नेताहरुले राज्यको पुनःसंरचना र शासकीय स्वरुपलगायतका संविधानका विवादित विषयमा सहमति खोज्ने विषयमा छलफल गरेको संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो  ।

मन्त्री रिजालका अनुसार राज्यको पुनःसरचना र शासकीय स्वरुपलगायतका विषयमा सहमति खोज्ने प्रक्रिया सुरु भएको छ र सहमति नजिक पुग्ने अवस्था बनेको छ । छलफल निष्कर्षमा पुग्न नसकेकोले दुई दलबीच साँझ ५ बजे पुन छलफल हुनेछ ।  सरकारका प्रवक्ता समेत रहनुभएका रिजालले दुई सत्तारुढ दलबीच सरकार सञ्चालनका मुख्य विषय र चुनौती, महत्वपूर्ण नियुक्ति तथा सरकार सञ्चालनको समझदारी, विपक्षीसँगको सम्बन्ध, स्थानीय निकायको निर्वाचन र दुई पार्टीबीच भएका सहमतिको बारेमा पनि छलफल भएको उल्लेख गर्नुभयो ।

बैठकमा काँग्रेसले सुकुम्बासी आयोग गठन एकतर्फी ढङ्गले भएको भन्दै आपत्ति जनाएको थियो ।     केही दिनयता प्रमुख राजनीतिक दलहरुले आन्तरिक र दुईपक्षीय रुपमा संविधानको विवादित विषयमा सहमति जुटाउन छलफललाई अघि बढाएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले यी विषयमा पनि छलफलका लागि विषय प्रवेश गराएपछि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा जुटिरहेका छन् ।