८ गते २२ सभासदको छिनोफानो हुने

भदौ ६, काठमाडौँ – पर्सी बस्ने मन्त्रिपरिषदको बैठकबाट सरकारले मनोनीत गर्ने २६ मध्येका २२ सभासदको मनोनयन टुंगो लाग्ने भएको  छ । आज दिउसो  बालुवाटारमा भएको कांग्रेस र एमालेको बैठकले पर्सीको मन्त्रिपरिषद बैठकबाट २६ मध्ये २२ सभासदको मनोनयन हुने विष्कर्ष निकालेको छ। २२ मध्ये कांग्रेसबाट ९, एमालेबाट ८, एमाओवादीबाट ४ र राप्रपा नेपालबाट एक सभासद्को मनोनयन हुने संचारमन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिए ।

संविधानसभाको निर्वाचन  र सरकार गठन भएको पनि लामो समय भइसक्दा पनि संविधानसभामा सभासदको संख्या  ५७५ मात्र भएकाले सरकारले यो संख्यालाई आधार बनाएर सभासदको मनोनयन गर्न लागेको ुरकारका प्रवक्ता रिजालले बताए । मन्त्री रिजालका अनुसार अन्य ४ सिटमा अन्य  दलले आफैँ प्राप्त गरेको मतअनुसार एउटा सभासद पनि पाउने नदेखिएपछि सरकारले साना दलहरुलाई मिलेर आउन आग्रह गरीएको  छ।

साना दलहरुबीच छलफल भई टुंगोमा पुग्न समय लाग्ने हुनाले २२ जनाको मनोनयन आइतबार नै हुने बालुवाटार स्रोतले बताएको छ।  शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस र एमालेलाई छलफलका लागि पर्याप्त समय दिन आइतबार सारेका हुन्। सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार भएका कसैलाई पनि २६ जनामा मनोनयन नगर्ने सहमति पार्टीहरुबीच बनेको छ।