एमाओवादीमा द्वन्द्वविराम भंग

भदौ ५, काठमाडौ‌ – एमाओवादीभित्र दुई समूहबीच मिलेर जाने गरी एक साता अघि भएको द्वन्द्वविराम भंग भएको छ । संस्थापन पक्षले पेल्ने क्रम जारी राखेको भन्दै बुधवार नेता बाबुराम भट्टराई समूहले राजधानीमै समानान्तर जिल्ला कमिटी बनाएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, यसअघि संस्थापन पक्षले काठमाडौं जिल्ला अध्यक्षमा हिमाल शर्मालाई चयन गरेको थियो । त्यसमा असहमती राख्दै भट्टराई समूहले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । त्यसमा शर्मालाई उपाध्यक्ष राखिएको छ । संस्थापन पक्षले बनाएको शर्मा नेतृत्वको कमिटीमा भने श्रेष्ठलाई उपाध्यक्ष बनाइएको थियो ।

पार्टीका सबै काम दुवै पक्ष मिलेर गर्ने भनी साउन २६ गते भएको सहमती उल्लंघन भएको भन्दै संस्थापन पक्षले यसलाई दुर्भाग्यका रुपमा लिएको छ । अब त नियत माथि नै प्रश्न उठेको छ । काठमाडौंमा समानान्तर कमिटी गठनको खबरले हामीलाई आश्चर्य बनाएको छ,केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खडकाले  भने । उनका अनुसार बिहीवार स्थायी समिति बसी काठमाडौं घट्नाबारे बिस्तृत छलफल हुनेछ ।

यसअघि संस्थापनले एकलौटी रुपमा चलाउदै आएका प्रशिक्षक्ष रोक्ने र भट्टराई पक्षले समानान्तर कमिटी गठन बन्द गर्ने सहमति भएको थियो । पार्टीभित्र विवाद चकिर्दै जादा संविधान निर्माणलाई समेत असर पर्ने महसुस गर्दै दुबै पक्ष बिवाद मिलाउन राजी भएका थिए । दुवै पक्षबीच पार्टीभित्र ुद्वन्द्वविरामु रोकी स्थायी समिति र वैचारिक व्यवस्थापन समितिको बैठकबाटै विवाद मिलाउने सहमती भएपनि अध्यक्ष पक्षबाटै उल्लंघन सुरु भएको भट्टराई समूहका एक नेताले दाबी गरे । काठमाडौंमा लामो समयदेखि संगठनमा काम गरेका नेतालाई वाइपास गर्ने काम भयो । त्यसलाई मिलाऔं भन्दा सुनुवाई भएन, ती नेताले भने, कार्यकर्ताको तहबाटै असन्तुष्टी आएपछि हामीले महेन्द्र श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरेका हौं ।

संस्थापनले उचित पद नदिएको कारण राख्दै भट्टराई पक्षले सिन्धुली, धुनषा, पर्सा, बैतडी, गोरखा, कास्कीलगायत जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । एमाओवादीले काठमाडौ जिल्लाका विद्यार्थी, मजदुर, सम्पर्क मञ्चलगायत सबै मोर्चा कमिटी विघटन गरी भूगोलमा समाहित गरेदेखि नै समस्या उब्जिएको थियो । नेता भट्टराईले अखिल क्रान्तिकारीका अध्यक्ष शर्मालाई उपाध्यक्ष र श्रेष्ठलाई अध्यक्ष बनाउन पार्टीमा प्रस्ताव गरेका थिए । त्यसविपरीत संस्थापनले शर्मालाई अध्यक्ष घोषणा गरेको थियो । श्रेष्ठले आफूले २०६३ सालदेखि नै नेतृत्व गर्दै आएको तर विचार समूहकै आधारमा पाखा लगाउन खोजिएको दावी गरे ।

पार्टीभित्र विभिन्न विचारको बहस हुन्छ । त्यही कारण कसैलाई नेतृत्वबाट बञ्चित गराइनुहुन्न, गत संविधानसभा निर्वाचनमा क्षेत्र नं ५ बाट पराजित उम्मेवादर समेत रहेका श्रेष्ठले भने । संस्थापन पक्षीय अध्यक्ष शर्माले भने विज्ञप्ति जारी गरी समानान्तर कमिटी बनाइनु हास्यास्पद, गैरराजनीतिक र अराजकताको संज्ञा दिएका छन् । यसअघि नै संस्थापनले भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई केन्द्रिय कमिटीबाट निलम्बन गरेको थियो ।