माथिल्लो मस्र्याङदी–ए निर्माण आधी सकियो

भदौ २, लमजुङ – लमजुङको भुलभुलेस्थित ५० मेगावाट क्षमताको मस्र्याङ्दी नदीमा निर्माणाधीन माथिल्लो मस्र्याङदी–ए जलविद्युत आयोजना निर्माणको काम लगभग ५० प्रतिशत सम्पन्न भएको छ ।

भुलभुलेको ङादीमा बाँध निर्माण कार्य ९६ प्रतिशत सकिएको छ भने बाँधस्थलमा ३० हजार घनमिटर कंक्रिट र २३ हजार घनमिटर फिलिङको काम सम्पन्न भएको छ ।

मस्र्याङ्दी नदीसम्मको मोटरेवल पुल समेत संचालनमा आएको छ भने मूख्य कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पन्नी सिनोहाइड्रो सगरमाथा पावरले जनाएको छ ।

२०१५ भित्र सक्ने लक्ष्य राखिएको आयोजनाको ५ किलोमिटरभन्दा लामो सुरुङमा २ हजार ६ सय मिटर खनिसकिएको छ । हाल आयोजनाको पुल, सडक र पावरहाउस निर्माणको काम भैरहेको छ ।