दक्षिण कोरियालाई खरानी बनाइदिने उत्तर कोरियाको उद्घोष

भदौं २, काठमाडौं- उत्तर कोरियाले दक्षिण कोरियामाथि निर्मम आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाबीच हुन लागेको सैनिक अभ्यास परमाणु युद्धको रिहर्सल भन्दै प्योङयाङले यस्तो चेतावनी दिएको हो ।

दक्षिण कोरिया र अमेरिकाले मंगलबार देखि वार्षिक उल्ची फ्रिडम गार्डियन ड्रिल नामको सैनिक अभ्यास गर्दैछन् । उत्तर कोरियाको संभावित आक्रमण रोक्न भन्दै यी २ देशले वर्षेनी यस्तो अभ्यास गर्दै आएका छन् । यस्तो अभ्यासमा दशौं हजार सैनिक सहभागी हुन्छन् ।
उत्तर कोरियाले भने दक्षिण कोरिया र अमेरिकाले परमाणु युद्धको रिहर्सल गर्न लागेको भन्दै यसविरुद्ध निर्मम आक्रमण गर्ने चेतावनी दिएको हो । उत्तर कोरियाले केही समय यता निरन्तर जस्तै क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

उत्तर र दक्षिण कोरियाबीच १९५० को दशकमा भिषण युद्ध भएको थियो । उक्त युद्धपछि यी दुइ देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुइ देश अझै पनि प्राविधिकरुपमा युद्धमै छन् ।