कृष्ण जन्माष्टमी पर्व मनाइदै

भदौ १, काठमाडौँ  – आज भाद्र कृष्ण अष्टमी नेपालका हिन्दु धर्मालम्बीहरुले भगवान श्री कृष्णको पूजा गरी मनाइरहेका छन् । कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

आज ललितपुरको पाटन स्थित कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको भिड लागेको छ । राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति रामबरण यादबले पाटन स्थित कृष्ण मन्दिरमा पुगेर आज प्रसाद ग्रहण गर्नु भएको छ ।

त्यस अघि बिहान शोभायात्रा समेत निकालिएको थियो ।  जन्माष्टमीका दिन कृष्ण मन्दिरहरुमा श्रीकृष्णको पूजा–आराधना, गर्नुका साथै महिलाहरु ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ । सरकारले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ ।