चरीको शोकमा बालगृहमा मुण्डन

भदौ १, काठमाडौँ – प्रहरी ‘इन्काउन्टर’मा मारिएका डन दिनेश अधिकारी चरीको शोकमा उनकी प्रेमिका खुश्बु ओलीले आफ्नो बालगृहका बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी छन् ।

उनले आफूले सञ्चालन गर्दै आएको विशालनगरस्थित बालगृह ‘सेल्टर’ मा आश्रति बालत तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी मारिएको भोलिपल्टै उनले बालगृहका २० भन्दा बढी बालकलाई एकैपटक कपाल मुण्डन गर्न लगाएकी थिइन् ।

बालगृहकी अध्यक्ष खुश्बुले चरी मारिएको भोलिपल्ट बालक र कर्मचारी सबैले केस मुण्डन गरेको बताइन् । चरी बालगृहमा आइरहने भएकाले उनको सम्मानस्वरुप केटाकेटीले कपाल मुण्डन गरेको खुश्बुले बताएको नयाँ पत्रिकामा खबर छ ।

‘चरी बेलाबेला बालगृह आउने गर्थे । केटाकेटीसँगै खेल्ने गर्थे । मारिएको भोलिपल्ट सबैले केस काटेछन् । तर, यो विषय चर्चा गर्न आवश्यक छजस्तो लाग्दैन,’ खुश्बुले भनिन् ।

सेल्टरमा रहेकाहरुले कपाल मुण्डन गरेर आफ्ना दुःखमा साथ दिएकोसमेत उनले बताइन् । उनले भनिन् ‘बालगृहको सञ्चालक म । दिनेशजी मारिएपछि मलाई दुःख त पर्‍यो नै । मलाई साथ दिन पनि उनीहरुले कपा मुण्डन गरेका हुन् रे । यो स्वाभाविक होजस्तो पनि लाग्छ ।’ बालगृहमा सडकबालक र कर्मचारी गरी ३५ जना छन् । कपाल मुण्डन गरे पनि जुठो भने नबारेको सेल्टरमा रहेका बालकले बताए ।