बर्षाले जनजिवन ब्यापक प्रभावित / मृत्यु हुनेको संख्या बढ्दो

साउन ३०, काठमाडौँ  –  केही दिनदेखि देशभर भैरहेको वर्षाको कारण जनजिवन ब्यापक प्रभाबित भएको छ । अत्याधिक वर्षा हुन थालेपछि हालमम्म मृत्यु हुनेको संख्या बढीरहेको  छ  । हिजो बेलुका सम्म बाढीका कारण मृत्यु हुनेको संख्या १७ थियो भने आज बिहान सम्म २ दर्जन नाघेको बताइएको  छ ।

डडेल्धुरामा बाढीले बगाएर तीनजना विद्यार्थी बेपत्ता भएका छन् । विद्यालय जाँदै गरेका छात्राहरुलाई असीग्राम गाविसमा रुवाखोलाले बगाएको प्रहरीले जनाएको छ । बिहान विद्यालय जाँदै गर्दा असीग्राम ८ की कक्षा ९ मा अध्ययनरत १६ वर्षीया मन्जु देउवा, १५ वर्षीया सावित्री देउवा र १५ वर्षकै भागरथी देउवा बेपत्ता भएका हुन् । दाङमा अविरल वर्षाका कारण घर भत्किंदा दुईजनाको मृत्यु भएको छ । पुरन्धारा गाविस वडा नम्बर ९ गंगटेमा घर भत्किंदा आमा देवकला कुँवर र उनकी छोरी गंगाको मृत्यु भएको हो ।

उता  दाङको बबई नदीमा आएको बाढीले विभिन्न गाविसका दर्जनौ बस्ती डुबानमा पारेको छ । नदीमा आएको बाढीले उरहरी, डुरुवा, फूलबारी, पन्चकुले, श्रीगाउँ लगाएतका गाविसमा सयौँ घर डुबानमा पारेको प्रहरीले जनाएको छ । बाढीले दाङको यातायात सेवा प्रभावित बनेको छ । लमही तुल्सीपुर सडकखण्डमा पर्ने खोलामा आएको बाढीका कारण यातायात सेवा ठप्प बनेको हो । वर्षाका कारण नदी तथा खोलाहरुमा आएको बाढीले दाङ तथा देउखुरी क्षेत्रका सयौँ घर डुबानमा पारेको हो । देउखुरीका आधा दर्जन गाविसका एक हजार बढी घर डुबानमा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गएराती रुकुमकोे चुनुवाङ्ग ८ सिन्चौरमा नन्दराम घर्तिको घर पहिरोले पुर्दा उहाँका ७ वर्षिय छोरा विजय घर्ति र १० वर्षिय छोरी विमला घर्तिको मृत्यु भएको छ । पहिरोमा परी १४ वर्षिय पुर्णीमा घर्ति र रु ६ वर्षिय कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

बुधबारदेखिको निरन्तरको वर्षा पछिको बाढि पहिरोको कारण हिजो देशका विभिन्न स्थानमा १३ जनाको मृत्यु भएको थियो भने डेढ दर्जन बढि बेपक्ता छन् ।  यस्तै म्याग्दीको बरंजा ४ मा नैदीखोलाको पुल बाढिले बगाएको बगाएको छ । उता धनुषा र महोत्तरी जोड्ने रातु खोलाकोे पुल भासिएपछि पुर्व पश्चिम राजमार्गमा आवत जावत गर्ने यात्रु र सवारी साधन अलपत्र परेका छन् ।त्यसको बिकल्पमा बैकल्पीक मार्गको व्यबस्था गरिएपनि निरन्तरको वर्षाले सो मार्ग पनि डुवानमा परेपछि यात्रुलाई शास्ती भएको हो ।

रौतहटमा हिजो उच्च बनेको बाग्मती नदिको बहाब केहि घटेको छ भने लालबकैया नदीमा पानीको बहाब उच्च बनेकोले त्यस क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारी वर्षाका कारण राप्ती राजमार्ग अन्र्तगत रुकुम र सल्यानको सडक खण्ड खारा क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । लगातार परेको पानीले राप्ती अन्चलका पाँचै जिल्लाको जनजिवन अस्तव्यस्त भएको छ ।

बाँकेका ६ गाबिस बाढिको डुवानमा परेका छन् भने पुर्वपश्चिम राजमार्ग पनि अबरुद्ध भएको छ ।  यस्तै नारायणी नदिमा पानिको बहाब यस बर्र्षकै उच्च भएको छ । ६ मिटरसतह सामान्य मानिने नारायणी नदिमा अहिले पानिको बहाब बढेर ७ दशमलव ९ मिटर पुगेको छ । ८ मिटर खतराको संकेत रहेकाले सचेत रहन स्थानीयलाई सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आग्रह गर्नुभएको छ ।वर्षाले पुर्वि चितवनको रत्ननगर स्थीत रमाइलो वस्ती ,पश्चिम चितवनको मेघौली, मङगलपुर, गुञ्जानगर, दिब्यनगर क्षेत्र जोखिममा परेका छन् ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा भैरहने छ । मौषम बिद राजेन्द्र श्रेष्ठका अनुसार नेपालमा यस वर्ष पानी कम परेकोले अझै पनि भारी वर्षाको सम्भाबना कायमै छ ।