एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

साउन २८, काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । दिउसो १ बजेपछि पार्टी केन्द्रिय कार्यालय बल्खुमा बस्ने बैठकमा नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । हिजो बसेको बैठकमा यि प्रतिवेदनहरु पेस भएका थिए । साउन २ गतेको पहिलो बैठकले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन गरिएको थियो । राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । आजदेखि यि प्रस्तावमाथि छलफल हुनेछन् । महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर ती प्रतिवेदन तयार गरिएका हुन् । तर विधानमा पार्टीका स्थायी कमिटी र पोलिटब्युरोमा उम्मेदवार हुन वरिष्ठतालाई आधार बनाउने कि सबैलाई योग्य मान्ने भन्ने विषयमा देखिएको विवाद भने यथावत छ । चालू बैठकका लागि महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसदको काम लगायत कार्यसूची तय गरिएको छ ।