एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

साउन २७, काठमाडौं – नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आजदेखि सुरू हुने भएको  छ । एमालेको यही साउन २ गतेको पहिलो बैठकले कार्यसूची निर्धारण गरी दोस्रो बैठक तय गरेको सचिव योगश भट्राइले जानकारी दिए ।

एमालेले दोस्रो बैठकका लागि महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसद्को कामलगायत कार्यसूची तय गरिएको छ ।

पहिले बैठकले दिएको जिम्मेवारीअनुसार महाधिवेशनबाट पारित विधान संशोधन र दस्तावेजलाई अन्तिम रूप दिन गठित कार्यदलले आफ्नो काम सम्पन्न गरेको छ । महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन भएका थिए ।

यसका राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली छन् भने सङ्गठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।