बैंकमा पैसा फलाफाल

२६ साउन, काठमाडौँ –  बैंक वित्तिय संस्थामा लगानी गर्न सक्ने रकम यत्तिकै थन्किएपछि उनीहरुसंगै सर्वसाधारण पनि मर्कामा पर्न थालेका छन् ।

एक बर्षदेखि बैंकमा अत्यधिक रकम जम्मा भइरहेको तर सोहि अनुसार लगानी नहुदा अर्थतन्त्रमै नया खाले जोखिम देखिने खतरा बढेको हो । ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर बर्षदिन यता एक प्रतिशत भन्दा कम हुनु अत्यधिक लगानी योग्य रकम (तरलता) भएको संकेत हो । बैंक वित्तिय संस्थामा बढि रकम भएपछि उनीहरु ट्रेजरी विल्समा लगानी बढाउन खोज्छन ।

 

लिलाम बढाबढमा खरिद गर्नुपर्ने विल्समा बढि लगानीकर्ता भएपछि स्वभाविक रुपमा ब्याज कम हुदै जान्छ । बैंकहरुसंग बढि रकम भएपछि उनीहरु सर्वसाधारणबाट पनि रकम लिन चाहदैनन । जसले गर्दा बचतको ब्याजदर पनि कम भएर सर्वसाधारणलाई मर्का पर्न थालेको छ ।

०७० असार २५ देखि १ प्रतिशत भन्दा कम भएको व्याजदर पछिल्लो एक महिना देखि ० कै हाराहारीमा अडएको छ । अल्पकालिन व्याजदरको औसत अवस्था देखाउने ९१ दिने ट्रेजरी बिल्सको प्रतिफल यस्तो देखिएको हो । बैंकबाट विकास निर्माणका लागि आवस्यक आन्तरिक ऋण उठाउन र बजारको बढी तरलता (लगानी योग्य पुजी) खिच्न सरकारले राष्ट्र बैंक मार्फत जारी गर्ने उपकरण ट्रेजरी बिल्स हो ।

तर पछिल्लो एक वर्ष देखि बैंक वित्तिय संस्थाले निक्षेप अनुसार लगानी बढाउन नसक्दा र सरकारले पनि तोकेजति आन्तरिक ऋण नउठाउदा रकम थन्किने क्रम बढेको हो । रेमिट्यान्सले निरन्तर रकम थपिइरहेको छ । सरकार सँगै उद्योगी व्यवसायीले पनि आवस्यक मात्रामा रकम खर्च गर्न नसक्दा बैंकमा कर्जाको ठुलो माग आउन सकेको छैन । गत बर्ष सरकारको पुजीगत खर्च ७५ प्रतिशत मात्रै भएको छ । सरकारले खर्च नगर्दा निजी क्षेत्रको पनि क्षमता घटछ ।

 

पछिल्लो कारोबार अनुसार साउन २० गते ९१ दिने ट्रेजरी बिल्सको व्याज ० दशमलव ००४ प्रतिशत कायम थियो । राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल्स विक्रीका लागि आवेदन खोल्दा १३ अर्ब भन्दा बढीको आवेदन परेको थियो । न्यूनतम ० दशमलव ००४० देखि ० दशमलव ००४८ सम्म पाउने गरि आवेदन दिएका थिए ।

के हो ट्रेजरी बिल्स ?

 

सरकारले आफ्नो बजेटमा उल्लेख भए अनुसारको आन्तरिक ऋण उठाउनका लागि विक्री गर्ने प्रमाणपत्र -प्रोमिसरी नोट) लाई ट्रेजरी बिल्स भनिन्छ । मुद्रा बजार भित्र पर्ने यो उपकरणको अवधी १ वर्ष भन्दा कम हुन्छ । बैंक वित्तिय संस्थामा रकम थुप्रदै गएर अनुत्पादक क्षेत्रमा लगानी बढी अर्थतन्त्रमा समस्यामा पर्ने देखिए विल्स मार्फत रकम तानिन्छ ।

 

बिभिन्न समयमा निस्कासन र नविकरण भैरहने ट्रेजरी बिल्सको व्याजलाई बजारमा तरलता रहे/नरहेको जानकारी दिने सूचकका रुपमा हेर्ने गरिन्छ । यसको ब्याजदर कम हुदा बैंकहरुसंग धेरै रकम भएको संकेत दिन्छ । यो दर अत्यधिक कम हुनु सरकार, बैंक र सर्वसाधारण तीनैका लागि हानिकारक हो । बैंक वित्तिय संस्थाले बचतको केहि अंश अनिवार्य यसमा लगानी गर्ने पर्ने हुदा प्रतिफल कम आउछ । रकम थुपि्रएकाले बैंकहरुले जथाभावी लगानी गरेपनि २०६६ मा घरजग्गाका कारण अर्थतन्त्रमा देखिएको जस्तै समस्या आउनसक्छ । बचतको ब्याजदर कम हुन्छ । तर ऋण लिन चाहनेले भने सस्तोमा रकम पाउछन ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।