श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद

साउन २३, सुर्खेत  –  वीरेन्द्रनगर–८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद गरेका छन् । वीरेन्द्रनगर–८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो । सुर्खेत निवासी भएपनि गौतमले जिल्ला अदालत, बाँकेबाट शर्मिलालाई झुक्याएर सम्बन्धविच्छेद गरेको उजुरीमा उल्लेख गरिएको छ ।

सुरुमा सम्बन्धविच्छेदबारे थाहा नै नदिई सम्पूर्ण कागजात तयार गरी अदालतमा उपस्थित गराई जबर्जस्ती एक्लै पारेर सम्बन्धविच्छेद गरेको पीडित शर्मिलाले बताईन । शर्मिलाका अनुसार गौमले यसअघि नै सबै कागजात तयार गरिसकेको र उनलाई गत असार २९ गते सुर्खेतबाट जबर्जस्ती बाँके पुर्याएर ३१ गते अदालतबाट सम्बन्धविच्छेद गरेका थिए ।  सम्बन्धविच्छेद गर्दा शर्मिलाले नै सम्बन्धविच्छेद गर्न माग गरेको उल्लेख गराइएको छ तर शर्मिलाले आफूले कहिल्यै पनि सम्बन्धविच्छेदको कुरा ननिकालेको बताईन।

सम्बन्धविच्छेद हुने बेलासम्म गौतमसँग सम्बन्ध पनि नबिग्रिएको तर एक्कासी झुक्याएर सम्बन्धविच्छेद गराइएको शर्मिलाको भनाइ छ ।  गौतमले शर्मिलालाई अंशस्वरुप रु सात लाख दिने र छोरी एकता ६ महिनाको मात्रै भएकाले आमाकै संरक्षणमा रहने सहमतिमा सम्बन्धविच्छेद भएको छ । शर्मिलाको घर वीरेन्द्रनगर–८ मा भएपनि कोहलपुर–३ मा कोठाभाडामा बस्ने भनी उल्लेख गरिएको पाइएको छ । यसबाहेक गौतमले शर्मिलालाई घरबाट बाँके लैजाँदा गौतमले सुरुमा मनकामना जाने भनेको शर्मिलाले बताईन ।

बाँकेका अधिकारकर्मी र आफन्तसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गर्न आउनुभएकी शर्मिलाले आफूलाई झुक्याएर सुर्खेतबाटै वकिल लिएर बाँके जिल्ला अदालतमा जबर्जस्ती सम्बन्धविच्छेद गर्न बाध्य बनाएको बताए  । गौतम र शर्मिलाबीच विसं २०६९ फागुन १५ गते मागी विवाह भएको थियो । विवाह भएको एक वर्ष नपुग्दै २०७० माघ–५ गते उनीहरूको छोरीको जन्म भएको थियो । सम्बन्धविच्छेद गरिसकेपछि गौतमले दाइजो पनि माइतीलाई फिर्ता गरिदिएका छन् ।    गौतम सुर्खेतका कहलिएका जग्गा कारोबारी हुन् । उनले धनकै आडमा यस्तो गरेको हुनसक्ने शर्मिलाका आफन्तले बताएका छन् ।