एसियाडलाई करातेको छनोट

साउन २३, काठमाडौं  –  एघारौं दक्षिण एसियाली खेलकुद साग का स्वर्ण पदक विजेता सुनील लामाले एसियाली खेलकुदको अवसर चुकाएका छन्। अन्तिम छनोटमा पराजित भएपछि सुनीलले दक्षिण कोरियाको इन्चोनमा असोज ३ बाट हुने १७औं एसियाली खेलकुद खेल्न नपाउने भएका छन्।
बिहीबार छनोटको ५५ केजी तौल समूहमा विजय लामाले सुनीललाई हराएका थिए। ७–७ अंकको बराबरीपछि सुपेरिटीु का आधारमा विजय एसियाडलाई छनोट भए।
११औं सागमा ६० केजीमा रजत जितेका विनोद महर्जन पनि एसियाड खेल्नबाट वञ्चित भए। चीनमा चार वर्षअघि सम्पन्न एसियाली खेलकुदको सेमिफाइनलसम्म पुगेका विनोद यसपटक ६७ केजीको छनोटमा मुकुन्द महर्जनसँग पराजित भए। विनोद र मुकुन्द एउटै डोजोका उत्पादन हुन्। उनीहरूलाई सानैबाट राष्ट्रिय टोलीका प्रशिक्षक दीपक श्रेष्ठका प्रशिक्षण दिएका थिए। मुकुन्दले विनोदलाई ११–६ अंकले हराएका थिए।
११औं सागका अन्य पदक विजेता भने एसियाली खेलकुदलाई छनोट भएका छन्। स्वर्ण विजेता गंगादेवी अधिकारी, रजत विजेता अनु अधिकारी र काताका कांस्य पदक विजेता पर्शुराम बास्तोलाले एसियाली खेलकुदमा प्रतिनिधित्व गर्ने भएका छन्।
नेपाल कराते महासंघले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २१ मध्येबाट ८ खेलाडी इन्चोन एसियाडलाई छनोट भएका छन्। यसअघि चितवनमा जेठ २३ र २४ मा एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट भएको थियो।
६८ केजीमा गंगाले विभुषा थापालाई ५–० अंकले हराइन्। अनुले ५० केजीमा अर्मिला डिसीमाथि ५–२ अंकको जित पाइनन्। ५५ केजीको अन्तिम छनोटमा मल्लिका थापाले सन्नी तामाङलाई पराजित गरिन्। पुरुष ७५ केजीमा दिवस श्रेष्ठ छानिए। उनले पहिलो खेलमा डिगम्बर पन्त १०–१ अंक र अन्तिम खेलमा लेखनाथ मैनाली १०–१ अंकले हराएका थिए।