लोकमानलाई संसदीय सुनवाइमा ल्याउन दबाब

साउन २१, काठमाडौं –  संसद नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय सुनुवाईमा ल्याउन लबिङ सुरु भएको छ । एकै देशमा दुई तरिकाका नियुक्ति हुने भएकाले एकरुपता कायम गर्न केही युवा सभासद्हरुले त्यसका लागि दलका नेताहरुसँग लबिङ गरिरहेको थाहा भएको छ ।

गत वर्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने गरी बाधा अड्काउ फुकाउ गरी बाधा अड्काउ जारी हुँदा संवैधानिक अंगको नियुक्तिको कुरा पनि घुसाइएको थियो । तर, पछि संविधानसभाको निर्वाचन भएपछि त्यतिबेला जारी भएका अध्यादेशहरु ऋनुमोदनका लागि संसदमा ल्याइए पनि संसदीय सुनुवाई गर्नुपर्ने नियुक्तिहरु भने नल्याइएको बुधबार साप्ताहिकमा खबर छ ।
अभियानमा सहभागी एक सभासद्ले भने ‘अब बाँकी रहेका संवैधानिक अंगका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा सुनुवाई हुन्छ । अनि एउटै निकायमा सुनुवाइ भएका र नभएका दुइथरी अधिकारी रहन सक्दैनन् । त्यसैले हामीले सुनुवाइमा ल्याउनुपर्छ भनेर अभियान चालेका छौं ।’ उनका अनुसार, यसका बारेमा सभामुख सुवास नेम्बाङसँग पनि कुराकानी भइसकेको छ ।
यतिधेरै मोवाइल किन  ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनासाथ कार्कीले सीधा जनसम्पर्कमा बस्नका लागि आफ्नो नम्बर नै सार्वजनिक गरेका थिए । तर, अहिले कसैले उनलाई सम्पकै गर्न चाहेमा निकै कटिन छ । प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा कार्कीका ६ वटा मोवाइलमा प्रयास गर्दा पनि पनि सफल भएन । कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले भने(’सरले आइतबार मोवाइल परिवर्तन गर्नुहुन्छ । पछिल्लो नम्बर मलाई पनि थाहा भएन ।’