मोदी भ्रमणले दुई मुलुकको सम्बन्ध प्रगाढ : मन्त्री रिजाल

साउन २०,  काठमाडौँ     –  सूचना तथा सञ्चार मन्त्री डा। मिनेन्द्र रिजालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्धले थप उचाइ पाएको बताएका छन् ।

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री रिजालले भारतीय प्रधानमन्त्रीको भ्रमण दुई मुलुकको विद्यमान सम्बन्धलाई थप उचाइमा पुर्याउन अत्यन्त सफल रहेको बताए ।

प्रधानमन्त्री मोदीले नेपालको संसद्मा गर्नुभएको सम्बोधन, राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेता तथा उद्योग व्यापारी समेतसँग गरेका भेटघाट निकै सार्थक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीको भ्रमणले नेपाललाई समृद्धिका मार्गमा अघि बढाउन महत्वपूर्ण प्रेरणा प्रदान गरेको उल्लेख गर्दै उहाँले सार्वभौम नेपालको विकासका लागि भ्रमणका बेला व्यक्त गरिएका शुभेच्छालाई नेपालका राजनीतिक दलले आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।