कोसी किनारका स्थानीय घर फर्कन थाले

साउन १९ , उदयपुर  –  दुई दिनअघि सिन्धुपाल्चोकको माङ्खा र राम्चेबीचको जुरेमा पहिरो गएर सुनकोसी नदी थुनिएपछि जिल्लाको १९ गाविसका कोसी किनारका जनता अहिले कोसीको खतरा कम हुने सङ्केतपछि विस्तारै घर फर्कन थालेका छन् ।

सिन्धुपाल्चोकको जुरेमा कोसी थुनिएर फुट्ने खतरा बढेपछि उदयपुरका १९ गाविसका कोसी किनार क्षेत्रका सात हजारभन्दा बढी जनता अन्यत्र सुरक्षित स्थानतर्फ गएका थिए भने जिल्लाको कोसी क्षेत्रमा व्यापक त्रासदी फैलिएको थियो ।

अहिले कोसीको खतरा कम हुँदै आएको कारण उनीहरू विस्तारै घर फर्कन थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।

प्रजिअ थपलियाका अनुसार पहिलो सिन्धुपाल्चोकमा सुनकोसी थुनिएको खबर पाउने बित्तिकै आफूहरूले जिल्लाको सुनकोसी क्षेत्रका जनतालाई घर छाडेर सुरक्षित स्थानतर्फ जान सतर्क गराइएको थियो  ।

सिन्धुपाल्चोकमा सुनकोसी थुनिएको खबर पाउने बित्तिकै उदयपुरमा कोसी किनार क्षेत्रका १९ गाविसका जनतालाई सुरक्षित स्थानमा जान गाविससचिव तथा प्रहरी र स्थानीय सञ्चारमाध्यममार्फत जानकारी गराएको हो ।

अहिले जिल्लाको अवस्था सामान्य रहे पनि सुनकोसी किनार क्षेत्रको मुख्य भागमा प्रहरी परिचालन गरिएको छ ।

जिल्लाको सुनकोसी क्षेत्रको घुर्मी, बाँसबोटे, रामपुर ठोक्सिला, तपेस्वरी, मैनामैनी लगायतका मुख्य क्षेत्रमा प्रहरी निरीक्षक तथा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको र जिल्लाका किनारका सबै जनता घर फर्किनसकेको र केही फर्कंदै गरेको तथा केही फर्कने क्रममा रहेको सम्बन्धित क्षेत्रका गाविस सचिवले बताएका छन् ।