एकदिने राष्ट्रिय साम्बो प्रतियोगिता सम्पन्न

साउन १८, काठमाडौँ –  तेस्रो राष्ट्रिय साम्बो प्रतियोगितामा हिमप्रभा खत्री र पुष्पा भण्डारी उत्कृष्ट खेलाडी चुनिएका छन् ।     नेपाल साम्बो सङ्घले आयोजना गरेको सो प्रतियोगितामा पुरुषतर्फ खत्री पुरुषको ६८ केजी तौल समूहमा सन्तोष खरेललाई पराजित गर्दै तथा भण्डारी महिलाको ४५ केजी तौल समूहमा पञ्चमा रावललाई पाखा लगाउँदै उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्यस्तै पुरुषको ५७ केजीमा पूर्ण घिसिङ पहिलो र हरिराम चौधरी दोस्रो भए भने ६२ केजीमा गोपाल पुन पहिलो तथा कृष्णलाल तामाङ दोस्रो भए । ७४ केजी तौलसमूहमा मोहन सुनुवार र सराज गोले क्रमशः पहिलो र दोस्रो भए ।     यसैगरी ४० केजी तौल समूह पुरुषमा रुपेश शाही पहिलो र  अर्जुन कामी दोस्रो भए भने सोही स्पर्धाको महिलामा शारदा खत्री पहिलो र जानकी सिंह दोस्रो भए ।

पुरुषको ४५ केजी तौल समूहमा गोविन्द विष्ट पहिलो तथा लक्ष्मण केसी दोस्रो एवं  ५२ केजी तौलसमूहमा शनिस खड्गी पहिलो र रामकृष्ण श्रेष्ठ दोस्रो भए । महिलाको ५६ केजीमा पुष्पा कामी र रीना थापा मगर क्रमशः पहिलो र दोस्रो भए ।    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रमान थिङ, आयोजक सङ्घका अध्यक्ष धनन्जय श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । एकदिने उक्त प्रतियोगितामा पुरुष तथा महिला ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।