मोदीको भ्रमणमा विरोध नर्गन मोर्चालाई प्रमको आग्रह

साउन १५, काठमाडौँ  –  प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे आसन्न नेपाल भ्रमणमा विरोधका कार्यक्रम नगर्न नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई आग्रह गरेका छन् । मोदीको आसन्न नेपाल भ्रमणमा भारतसँग राष्ट्रिय हितविपरीतका सन्धिसम्झौता नगर्न माग गर्दै ज्ञापनपत्र बुझाउन  बालुवाटारमा पुगेको मोर्चाको टोलीलाई प्रधानमन्त्रीले विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

भेटमा आफूहरुले भारतसँग कुनैप्रकारको सन्धिसम्झौता नगर्न आग्रह गरेको र गर्नै परे  सर्वदलीय सहमतिमा राष्ट्रहित अनुकूल हुनेगरी मात्रै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको माओवदीका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । नेपालको ५४ क्षेत्रको करिव ६० हजार हेक्टर जमिन मिचिएकाले त्यो नटुङ्गिएसम्म भारतसँग सीमा सम्झौतामा हस्ताक्षर गर्न नहुने, नेपाल–भारत सीमा नियन्त्रण गरिनुपर्ने, सन् १९५० को सन्धि खारेज गर्नुपर्नेलगायतका माग आफूहरुले प्रधानमन्त्रीसमक्ष राखेको भुषालले बताइन् ।

मोर्चाले जलविद्युतको विकास र व्यापारको नाममा भारतीय संस्थाहरूले नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्न खोजेको भन्दै जलविद्युत र जलस्रोतसम्बन्धी सन्धि नगर्नसमेत सरकारसँग माग गरेको छ ।     ज्ञापनपत्र बुझ्दै  प्रधानमन्त्री कोइरालाले राष्ट्रिय हितविपरीतका कुनै सन्धिसम्झौता नहुनेमा ढुक्क हुन मोर्चाका नेताहरुलाई जवाफ दिएको वालुवाटार निकट स्रोतले जनाएको   छ ।