हराएका क्षयरोगीको खोजी अभियान सुरु

साउन १५ , काठमाडौं  –   राष्ट्रिय क्षयरोग केन्द्र थिमिले पहिचान हुन नसकेका क्षयरोगीको खोजी कार्य सुरु गरेको छ ।  हाल नेपालमा पहिचान हुन नसकेका क्षयरोगीको अन्दाजी संख्या १० हजार पुगेको स्रोतको दाबी  छ ।

केन्द्रले सम्पर्क बाहिर रहेका अर्थात् पहिचान हुन नसकेका क्षयरोगका बिरामीको खोजी कार्य सुरु गरेको राष्ट्रिय क्षयरोग केन्द्र थिमिले जनाएको  छ । सम्पर्कमा नआएर हराएका तथा नयाँ क्षयरोगीको पहिचान गर्न केन्द्रले क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ गाउँमा कर्मचारी पठाएको छ ।

सुगमभन्दा पनि दुर्गम जिल्लाका गाउँगाउँमा पुगेर क्षयरोगीको खोजी कार्य केन्द्रले थालेको छ । केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत जिल्ला जिल्लामा माइक्रोस्कोप मेसिन लगेर दुईसातादेखि लगातार खोकी लागेको, खकारमा रगत देखिएको, खान मन नलाग्ने जस्ता क्षयरोगका शङ्कास्पद बिरामीको खकार परीक्षण गरी क्षयरोगीको पहिचान गर्न सुरु गरेको छ ।

यसका लागि केन्द्रले ५५४ वटा सेन्टरमार्फत खकार परीक्षण गरेको ९० मिनेटभित्र रिपोर्ट आएर क्षयरोग भए नभएको पत्ता लगाएर क्षयरोगको पहिचान गर्ने गरी टोली परिचालन गरेको छ ।