मन्त्री पौडेलसँग विबाद टुंगयो : लामा

साउन १५ , काठमाडौं  – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँगको विवाद टुंगिएको बताएका छन्। अघिल्लो दिन १७औं एसियाली खेलकुदमा सहभागिता जनाउन सहमतिका लागि आफू तयार रहेको बताएका मन्त्री पौडेलले  सदस्यसचिवको कार्यकारी अधिकारीको हैसियत स्वीकार्दै पत्राचार गरेका थिए। लामाले मन्त्रीको पत्रपछि समस्या समाधान भएको बताए।  मन्त्रीज्यूले बनाउनुभएको एसियाली खेलकुदको तयारी समिति समस्याको जड थियो। अब सदस्यसचिवलाई काम गर्नु भन्नुभएको छ। बोर्ड बैठकको पनि ग्यारेन्टी गर्नुभएको छ। ऐन कानुन र सिस्टममा गएपछि समस्या समाधान भएको छ,मन्त्री पौडेलले परिषदलाई पहिलो कानुनी चिठी पठाएको भन्दै लामाले  भने, मन्त्रीज्यूको निर्देशनले अब खेलकुद एउटा बाटोमा हुँइकिएको छ। यसलाई सकारात्मक लिएको छु। उहाँको निर्देशन अक्षरस पालना गर्नेछु। मन्त्री पौडेलले सदस्यसचिव लामासहित ६ सदस्यलाई पदमुक्त गरेपछि खेलकुदमा विवाद चर्केको थियो।

मन्त्रीको निर्णयविरुद्ध लामालगायत सर्वोच्च अदालतबाट स्टे अर्डर लिएर काममा फर्केका थिए। त्यसयता मन्त्रालय र परिषदको दुरी बढ्ने क्रममा मन्त्री र सदस्यसचिवबीच औपचारिक कुराकानी नभएको महिनौं बितिसकेको थियो। एसियाली खेलकुदका लागि मन्त्रालय र परिषदका आ–आफ्नै तयारी समिति थिए। एमालेका मन्त्री पौडेलले एमाओवादी कोटामा तीन वर्षअघि सदस्यसचिव नियुक्त भएका लामालाई हटाउन नसकेपछि आफ्नै दलका लामा टेन्डी शेर्पालाई परिषद उपाध्यक्ष नियुक्त गर्दै उनीमार्फत काम गर्न खोजेका थिए। त्यही अनुरुप उनले शेर्पालाई तयारी समिति संयोजक बनाएका थिए। परिषद भने सदस्यसचिव लामा संयोजक रहेको समितिबाट काम गर्दै थियो।

समितिले दुरी थप बढायो। लामाले समितिविरुद्ध पनि मुद्दा दायर गरे। यो मुद्दामा सर्वोच्चले बिहीबार पेशी तोकेको छ। लामाले मन्त्रीविरुद्ध दायर गरेको त्यो पाँचौं मुद्दा थियो। तर बुधबार मन्त्रीको पत्र प्राप्त भएपछि लामाले मुद्दाको औचित्य पनि सकिएको बताए।उहाँले बनाएको समितिलाई आफै बेवास्था गर्दै सदस्यसचिवमार्फत काम गर्न खोज्नुभएको छ। त्यसैले अब मेरो विचारमा मुद्दाको औचित्य पनि बाँकी छैन होला, लामाले भने। बुधबार मन्त्रालयमा पौडेल र लामाबीच कुराकानी भयो। कुराकानीमा दुवै पक्षले नियमसंगत मिलेर अघि बढ्नुपर्ने भनाइ राखेको बताइएको छ। बुधबारै चेस ओलम्पियाडका लागि नर्वे जान लागेका मन्त्री पौडेलले फर्केपछि थप सल्लाह गर्ने लामाले बताएको खबर नागरीक दैनीकमा छ ।

एकअर्काविरुद्ध आक्रामक प्रस्तुत भइरहेका मन्त्री र सदस्यसचिव बुधबारदेखि निकै नरम हुन थालेका छन्। अघिल्लो दिन मन्त्रीले एक कार्यक्रममा काम गर्दा कमजोरी भएको हुनसक्ने भन्दै विधि र प्रक्रियाअनुसार सच्याउँदै अघि बढ्नुपर्ने भनाइ राखेका थिए। मन्त्रीले नर्वे उड्नुअघि सदस्यसचिवलाई पाँचबूँदे निर्देशन दिएका छन्। सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदका लागि छनोट खेलाडीको बन्द प्रशिक्षणको व्यवस्था सम्बन्धित संघमार्फत गराउने, परिषदको आन्तरिक स्रोतबाट सम्बन्धित संघलाई रकम उपलब्ध गराउने र त्यसलाई परिषद बोर्ड बैठकबाट पास गराउनेलगायत निर्देशन दिइएको छ।