छोराको हत्या गरी बाबु फरार

साउन ११, राजविराज –  सप्तरीमा एक बाबुले नाबालक छोराको हत्या गरी फरार भएका छन् । बाबु श्रवण खङ्गले ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार भएको जाहेरी दर्ता भएको छ । मृतकका मामाली हजुरबुबा दिघवा–७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यान मुद्दा दर्ता भएको राजविराज प्रहरलिे जनाएको  छ ।

बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही वीरपुर–१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । लासको दुई मिटर पश्चिम हत्यामा प्रयोग भएको बन्चरोसमेत फेला परेको प्रहरी नायब उपरीक्षक केदार ढकालले बताए ।

घटनापछि हत्याका आरोपित श्रवण खङ्ग फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्र्षअघि मृतकका आमाले आत्महत्या गरेको गाउँलेले बताएका छन् ।