संविधानसभा बाहिर रहेका दलसँग वार्ता सुरु

साउन ११, इलाम  – संविधान निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेका विभिन्न दल तथा समूहसँग संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजदेखि इलाममा वाता सुरु गरेको छ ।     सभासद् आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले सङ्घीय विभिन्न ८ वटा समुहसँग वार्ता गर्न सुरु गरेको हो ।

उपसमितिले लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बवान राज्य परिषद्, किराँत जनवादी वर्कस पार्टी , किराँत जनवादी वर्कस पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा लगायत आठवटा समूहसँग वार्ता गर्ने भएको  हो ।  वार्ता बिहान १० बजेदेखि इलामको चियाबारी कटेजमा सुरु भएको छ । संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले सशस्त्र र निर्वाचनमा भाग लिएका दलसँग वार्ता सुरु गरिएको हो ।

यस्तै, वार्तामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विज्ञप्ति जारी गरेर ताप्लेजुङ कारागारमा रहेका आफ्ना कार्यकर्ताको रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिनुपर्ने र अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।