पशुपतिमा ब्राह्मणमाथि छानबिन गरिँदै

साउन १०, काठमाडौँ  – पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ । पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण भएको गुनासो भक्तजनबाट आएपछि उपाध्याय ब्राह्मणले मात्र पूजाआजालगायतका कर्मकाण्ड गराउन पाउने गरी आ–आफ्नो गाविसबाट उपाध्याय ब्राह्मण भएको सिफारिससहित निवेदन दिन दरखास्त माग गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

 कोषले माग गरेबमोजिम ३३० जनाको निवेदन पशुपतिमा कर्मकाण्ड गराउन पाउँ भनी परेको पनि सदस्यसचिव टण्डनले जानकारी दिनुभयो । ती निवेदनमाथि छानबिन गरी छिट्टै निर्णय गरिने पनि टन्डनले बताए । पशुपतिमा पूजाआजाका नाममा जथाभावी हुन थालेकाले पनि व्यवस्थित गर्नुपरेको कोषले जनाएको छ । घरमा पूजाआजा गराउन  ब्राह्मण खोज्नेले पशुपतिमा पूजाआजा गराउन ब्राह्मणको आवेदन माग गर्दा आपत्ति जनाउनु रहस्यको कुरा भएको छ ।   राज्य धर्म निरपेक्ष भएपनि व्यक्ति धर्म निरपेक्ष नभएकाले कोषले पूजाआजाका लागि उपाध्याय ब्राह्मणको माग कर्म गराउने भक्तजनको मागबमोजिम नै गरेकाले पनि यो कदम व्यक्तिको  स्वतन्त्रताबमोजिम नै भएको ठहर कोषले गरेको छ ।