पाखो बारीमा फस्टाउँदै चिराइतो खेती

साउन ९,खोटाङ – खोटाङको उत्तरी गाविस पाथेकामा ६० रोपनी जग्गामा चिराइतो खेती लगाइएको छ । स्थानीय मेरुङ कृषि समूहमा आबद्ध कृषकले पाथेका–१ र २ मा पर्ने पाखो बारीमा चिराइतो खेती लगाएका हुन् । जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासङ्घले बीउ उपलब्ध गराएपछिसामूहिक रुपमा चिराइतो खेती लगाइएको मेरुङ समाज नेपालले जनाएको  छ   ।

जडीबुटीका रुपमा प्रयोग हुने चिराइतो खेतीको सम्भाव्यताको अध्ययनपछि गाउँको पाखो बारीमा सामूहिक रुपमा चिराइतो खेती गरिएको समाजले जनाएको छ । वर्ष दिनअघि गरिएको चिराइतो खेतीको सफल परीक्षणपछि समाजमा आबद्ध ११ घरका किसानको सहभागितामा पाथेकामा चिराइतोको बीउ छरिएको छ ।

जङ्गलमा पाइने चिराइतो सङ्कलन गरेर राम्रो मूल्यामा बिक्री गरेको अनुभव सँगालेका किसानले पछिल्लो समय आफ्नै बारीमा यसको खेती सुरु गरेका हुन् ।मेरुङ कृषि सहकारी संस्था र मेरुङ समाजको पहलमा पाथेका–१ र २ को ६० रोपनी तथा फेदी–९ को केलासी र पिपिङको १५ रोपनी जग्गामा चिराइतो खेती सुरु गरिएको हो ।

यस्तै, छिमेकी गाविस खार्ताम्छामा पनि चिराइतो खेती लगाउने तयारी भइरहेको मेरुङ समाजले जनाएको छ । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमा राम्रो आम्दानी दिने भएकाले जिल्लाका पाथेका, खार्मी, फेदी, खार्ताम्छा, बाकाचोल, ऐसेलुखर्कलगायतका कृषक चिराइतो खेतीतर्फ आकर्षित भएका छन् ।