जनपक्षीय संविधान बन्नेमा आशंका : प्रचण्ड

साउन ९, काठमाडौँ  – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि संविधानसभाबाटै संविधान जारी गर्नु तत्कालको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । शुक्रबार ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा निर्मित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सालिक अनावरण गर्दै प्रचण्डले संविधानसभाबाट संविधान जारी गर्न सबै वर्ग तथा क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिए ।

संविधानसभाको गठन हेर्दा जनताको पक्षमा संविधान बन्ने सम्भावना एकदमै कम रहेको उल्लेख गर्दै उहाँले परिवर्तन विरोधी शक्तिका कारण जनताको अपेक्षा पूरा नहुने हो कि भन्ने आशङ्का बढेकाले त्यसका विरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको उनको  धारणा थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई यो अवस्थामा ल्याउन कर्माचार्यको योगदान महत्वपूर्ण रहेको भन्दै उनको सपना पूरा गर्न पनि जनपक्षीय संविधान निर्माण गरेर मुलुकलाई समृद्ध बनाउनु आजको आवश्यकता भएको प्रचण्डले जीकीर गरे ।