साउनमा चुरा र मेहन्दीको व्यापार बढ्दो

साउन ८, काठमाडौँ   -जेठ र असारको बिहेवारीको लगनका बेलासमेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ ।     साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । हिजोआज वीरगन्जको माईस्थान र मीनाबजारमा हरियो चुरा र मेहन्दी किन्ने महिलाको भिड देख्न सकिन्छ ।  साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो, पहेंलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ ।

चुरा ‘सुहागको निसानी’ हो भन्ने धारणा अधिकांश महिलाको छ । तर आजभोलि सुहागिन महिलामात्र होइन, अविवाहित केटीहरूले पनि सुन्दर र राम्रो श्रीमान् प्राप्त होस् भन्ने चाहनाका साथ साउन महिनामा हरियो र पहेंलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । त्यसैले साउनमा चुराको माग उच्च हुन्छ ।     नेपाली परम्पराअनुसार साउनमा हरियो चुरा र मेहन्दी लगाउनाले लोग्नेको आयु बढ्ने र लोग्नेले बढी माया गर्ने विश्वास छ ।

बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । बजारमा अहिले रु २५ देखि ५०० सम्मको चुराको व्यापार भइरहेको छ । वीरगन्जको मिनाबजार, आदर्शनगर, गहवा माईस्थान र श्रीपुरलगायतका प्रमुख बजारमा चुराका यस्ता थुप्रै पसलमा यतिबेला ग्राहकको भिडभाड हुने गरेको देखिन्छ ।

कतिपयले सडकको पेटीमा राखेर पनि चुरा बेच्ने गरेको पाइन्छ ।  चुरा बजारको यथार्थ तथ्याङ्क उपलब्ध नभए पनि साउन महिनामा मात्र वीरगन्जमा झन्डै  एक करोडभन्दा बढी मूल्यको चुरा र मेहन्दीकोे कारोबार हुने गरेको चुरा व्यवसायीहरू बताउँछन् ।