साफ्टाको आठौँ मन्त्रिस्तरीय बैठक थिम्पुमा सुरु

साउन ८ , काठमाडौँ   – दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को आठौँ मन्त्रिस्तरीय बैठक आज भुटानको राजधानी थिम्पुमा बस्दै छ । बैठकमा ८ सदस्यीय नेपाली टोलीले भाग लिनेछ । नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले गर्नेछन् । बैठकमा साफ्टा कार्यान्वयनको सिलसिलामा संवेदनशील वस्तुहरुको सूचीमा रहेका उत्पादनहरुको सङ्ख्या र भन्सार तथा गैरभन्सार अवरोध हटाउने, व्यापार तथा सेवासम्बन्धी सार्क सम्झौताबारे छलफल हुनेछ । सार्क क्षेत्रमा व्यापार प्रवद्र्धनका साथै अन्तर क्षेत्रीय व्यापार वृद्धिबारे पनि बैठकमा छलफल हुने बताइएको  छ । मन्त्रिस्तरीय बैठकअघि हिजो र अस्ति सहसचिवस्तरीय विशेषज्ञ समितिको नवौं बैठक बसेको थियो ।