साढे पाँच करोड बराबरको नीति तथा कार्यक्रम सार्वजनिक

साउन ४, प्युठान –

हालै घोषणा भएको प्युठान नगरपालिकाले आर्थिक वर्ष २०७१-७२ का लागि झन्डै साढे पाँच करोड बराबरको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आफ्नो पहिलो नगर परिषद्मार्फत चालु तथा पुँजीगततर्फ रु पाँच करोड ३८ लाख २८ हजार बराबरको बजेट प्रस्ताव गरेको हो । पँुजीगत अनुदानतर्फ रु चार करोड ७८ लाख २८ हजार र चालुतर्फ  रु ६० लाख विनियोजन गरिएको छ ।

नगरको नगर परिषद्ले आफ्नो आन्तरिक आयतर्फ रु ९३ लाख ५७ हजार ६९१ अनुमान गरेको नगरपालिकाले जनाएको   छ  । सुन्दर र समुन्नत नगरको विकासका लागि सबै एक हुनुपर्ने भन्दै नगरपालीकाले सबै वडामा योजना पुग्ने गरी कार्यक्रम तय गरेको बताएको  छ ।     सदरमुकाम खलङ्गा आसपासका सात गाविसको समायोजन गरी घोषणा गरिएको नगरपालिका भौगोलिक रुपमा ठूलो भएको तथा वडा विभाजनमा भूगोल नमिलेको भन्दै नगरपालिकामा विवाद रहँदै आएको छ ।

 खैँरा, विजयनगर तथा मरन्ठाना जस्ता गाविसभित्र रहेका केही स्थान खानेपानी तथा यातायातको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको भन्दै नगरपालिकाले त्यस्ता क्षेत्रमा पूर्वाधार विकासका लागि प्राथमिकता दिएको बताएको छ । सदरमुकाम रहेको खलङ्गा गाविससहित मरन्ठाना, धर्मावती, विजुबार, विजयनगर, दाखाक्वाडी र खैरा गाविस गरी सात गाविस मिलाएर प्युठान नगरपालिका घोषणा गरिएको थियो ।