एमाले संसदीय दलको बैठक जारी

साउन ४, काठमाडौँ –

संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिका र सरकारसँगको समन्वयका विषयमा छलफल नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसिरहेको  छ  । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि हिजो बोल्न बाँकी रहेका सभासदहरुले आज आफ्नो भनाई राख्ने नेता योगेश भट्राइले जानकारी दिए ।

लामो समयदेखि बस्न नसकेको एमाले संसदीय दलको बैठक केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि हिजो पहिलो पटक बसेको थियो । हिजोको बैठकमा बोल्ने सभासद्ले बजेटमा पार्टीको प्रभाव कम भएको, सरकारका कामकारबाही सुस्त रहेको भन्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको आलोचना गरेका थिए ।

बैठकमा उर्जा मन्त्री राधा ज्ञवालीले बिबादास्पद उर्जा संझौता गोप्य राखेको विषयमा पनि सभासदहरुले आलोचना गरेका थिए । बैठकमा आज बाँकीले आफ्नो भनाई राख्ने एमाले जनाएको  छ ।