राहदानीबाटै ८ अर्ब राजस्व संकलन

साउन २, काठमाडौँ –

राहदानी वितरणबाट मात्रै करिव ८ अर्ब रुपैयाँ संकलन भएको छ । द्रुत सेवाबाट ४ अर्ब ४० करोड र जिल्ला तथा नियोगबाट करिब ३ अर्ब ६० करोड रुपैयाँ संकलन भएको राहदानी विभागले जनाएको छ ।

विभागका महानिर्देशक रमेशप्रसाद खनालले पछिल्लो समय राहदानी वितरण क्षमता विस्तासँगै राजस्वसमेत बढेको बताए । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

सन् २०१० मा डिसेम्बरदेखि मेसिन रिडेबल पास्पोर्ट एमआरपी वितरण सुरु भएको हो । जुनसम्म एमआरपीबाट द्रुतगतिमार्फत ९ अर्ब ७० करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । यो अवधिमा विभागले २१ लाख ९५ हजार ५ सय २९ एमआरपी वितरण गरिसकेको छ ।

तीमध्ये साधारण २१ लाख ८३ हजार ८ सय ९३, कुटनीतिक १ हजार ५ सय ८५, अफिसियल ९ हजार ६ सय ३० र ट्राफल डकुमेन्ट ८ सय २९ छन् । ‘४०र४५ प्रतिशत हस्तलिखित राहदानीबाहकले एमआरपी लिइसकेको हाम्रो अनुमान छ, खनालले भने,’अब १० लाखमात्र हस्तलिखित बाँकी छन् ।’

उनका अनुसार विभागले मासिक १ लाख एमआरपी बाँडिरहेकाले छिट्टै हस्तलिखित राहदानी प्रतिस्थापना गरिसकिने छ । हस्तलिखित प्रतिस्थापन गर्ने समस्या बढी विदेशमा छ ।