बजेटले कृषिलाई नयाँ जीवन दिन्छ – अर्थमन्त्री महत

साउन १, काठमाडौँ –

अर्थमन्त्री डा. रामशरण महतले लगानीको वातावरण बनाउन, कृषिलाई नयाँ जीवन दिन, अर्थव्यवस्थामा रहेको गतिहीनताको अन्त्य गर्न र पूर्वाधार विकासको कामलाई अघि बढाएर समग्र अर्थव्यवस्थालाई समृद्ध बनाउन बजेटले योगदान दिने बताएका छन्  ।

आजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अर्थमन्त्री डा. महतले सस्तो ब्याजमा ऋण दिएर ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै कृषिलाई नयाँ जीवन दिन पनि बजेट सफल हुने विश्वास व्यक्त गरेका हुन् ।

डा महतले बजेट कार्यान्वयनको चुनौती रहे पनि निश्चित अवधिभित्र सरकारी निकायले काम गर्ने गरी कार्यतालिका बनाउने काम केही दिनभित्रै हुने र त्यसका लागि आफूले मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशनसमेत दिएको बताए ।

तराईको कृषि, औद्योगिकीकरण, बृहत् सिँचाइ, पुराना आयोजनाको पुनःस्थापनालगायतका क्षेत्रमा काँग्रेस सरकारमा रहँदा नै अधिकतम बजेट आउने गरेको महतको दाबी छ ।

मन्त्री डा. महतले एनेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराई सत्तामा रहँदा नवउदारवादको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता संस्थाको शरणमा पुगेको प्रति कटाक्ष गरे ।