बजेटको प्राथमिकतामा आर्थिक वृद्धि नै मुख्य ध्येय : मन्त्री महत

असार ३१, काठमाडौँ –

अर्थमन्त्री डा. रामशरण महतले सरकारले मुलुकको आर्थिक वृद्धिका लागि समग्र क्षेत्रमा सुधार र औद्योगीकरणको नीतिसहित नयाँ बजेट प्रस्तुत गरेको बताएका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा आर्थिक वर्ष २०७१-०७२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्दै मन्त्री महतले विकासको मूल प्रवाहमा सबै निर्वाचन क्षेत्र आउन सकोस् भन्ने आशयका साथ निर्वाचन क्षेत्रलाई बजेटको व्यवस्था गरिएको स्पष्ट पारेका हुन् । उनले दक्षिण एसियामै सामाजिक सुरक्षामा बढी खर्च गर्ने मुलुक  भएकाले यसलाई दुरुपयोग हुन नदिन विशेष ध्यान दिइएको बताए ।

आरक्षण र सुविधामा मात्रै ध्यान दिनुभन्दा पनि शिक्षामा जोड दिने कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । प्रवेशिकामा ६० प्रतिशतभन्दा माथि अङ्क ल्याई उत्तीर्ण हुने दलित विद्यार्थीलाई विशेष भत्ताको व्यवस्था गरिने बताए ।

मन्त्री महतले कृषकलाई आधुनिक उपकरण र सरल ब्याज (छ प्रतिशत) उपलब्ध भएमा कृषि क्षेत्रमा सुधार आउने, आगामी तीन वर्षभित्र ऊर्जा सङ्कट हट्ने, घर घरमा उत्पादित सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न सक्ने अवस्था ल्याउनेतर्फ पनि बजेटले निर्देश गरेको बताए ।