समग्र अर्थतन्त्रमा सुधार गर्न बजेट केन्द्रित

असार ३०, काठमाडौँ ।

अर्थमन्त्री डा रामशरण महतले आर्थिक विकासको गति द्रुतरुपमा अघि बढाउँदै आगामी आर्थिक वर्षमा ६ प्रतिशतको वृद्धिदर हासिल गर्ने बजेटको मुख्य लक्ष्य भएको बताएका छन् ।

हिजो अपराह्न सार्वजनिक भएको बजेटका विशेषताका बारेमा जानकारी दिन आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वाधार निर्माणका ठोस आधारशिला खडा गर्ने, कृषिको आधुनिकीकरण गर्दै उच्च प्रतिफल दिने बाली उत्पादन र राष्ट्रिय उत्पादकत्व वृद्धिलाई बजेटले विशेष प्राथमिकता दिएको बताए ।

मुद्रास्फिति दर आठ प्रतिशतमा सीमित राख्ने, निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा उद्योगधन्दाको विकास, पूँजी बजारको बढोत्तरी, सामाजिक न्याय एवम् सुरक्षा अभिवृद्धि बजेटले प्राथमिकता दिएको उनको  भनाइ छ ।

आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी कृषि, सेवा र औद्योगिक क्षेत्रको उत्पादकत्व बढाउने सरकारको लक्ष्यमा सघाउन सम्बद्ध सबै पक्षलाई उहाँले आग्रह पनि गरे ।