तीन इन्जिनियर र एक लेखा अधिकृत अख्तियारद्वारा पक्राउ

असार २९, काठमाडौँ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरमा घुस लिँदालिँदै तीन जना इन्जिनियर र एक लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

निर्माण व्यवसायीसँग घुस मागेपछि उनीहरुको सुराककोे आधारमा टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यस क्रममा लेखा अधिकृत ऋषिभक्त तिमल्सिना, इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित र चक्रपाणि लामिछानेलाई घुस लिँदालिँदै अख्तियारले नियन्त्रणमा लिएको हो ।

काठमाडौँबाट गएको टोलीले उनीहरुलाई दुई लाख २८ हजार रुपैयाँ घुस लिँदालिँदै नियन्त्रणमा लिएको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।