वन क्षेत्र ४० प्रतिशत बनाउन सरकार अग्रसर

असार २८, काठमाडौँ –

सरकारले देशको कुल भू–भागको न्यूनतम् ४० प्रतिशत वन क्षेत्र कायम गर्न विभिन्न कार्यनीति अवलम्बन गरेको छ । हाल कुल भू–भागको २९ प्रतिशत वन क्षेत्र रहेकामा त्यसलाई ४० प्रतिशत पुर्याउन सरकारले सुरक्षात्मक, संरक्षणात्मक तथा प्रवद्र्धनात्मक कार्यनीति अघि बढाएको हो ।

यसका लागि राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार विकास निर्माण कार्यबाट प्रयोग हुने वन क्षेत्रको परिणात्मक अनुपातमा थप वृक्षरोपण सम्बन्धित आयोजनाबाटै गर्ने व्यवस्था गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

वन अतिक्रमण नियन्त्रण गर्न वन सुरक्षा योजना २०७० तथा वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ बमोजिम आर्थिक वर्ष २०६९-०७० मा ६ सय ४८ हेक्टर र चालु आर्थिक वर्षको फागुनसम्ममा ५५.५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराई व्यवस्थापन गरिएको छ ।

यसका लागि सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘एक घर एक रुख, एक गाँउ एक वन तथा एक नगर अनेक उद्यान’ कार्यक्रम र चालु आर्थिक वर्षबाट वनसम्बन्धी १० बर्से रणनीतिसमेत घोषणा गरिसकेको छ ।