सभासद्लाई पाँच करोड दिन नहुने

असार २६,काठमाडौ  –  सभासद्लाई विभिन्न विकासका नाममा पाँच करोड दिन नहुँने धारणा अर्थविद्हरुले राखेका छन् । राजधानीमा बिहिबार आयोजीत साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले विश्वका करिब २३- २४ देशमा सभासद्लाई आफ्नो क्षेत्रको विकासका निमित्त रकम उपलब्ध गराउने प्रचलन रहेको हँुदा नेपालमा पनि सभासदलाई विकासका लागि पाँच करोड रुपैया दिने कुरा नौलो नभएको टिप्पणी गरे ।

अर्थविद डा डिल्लीराज खनालले पाँच करोड दिने कुरा बजेटमा उल्लेख नगरेसम्म बजेट नै पास गर्न दिदैनौ भनेर सभासद्ले  बोल्नु गलत भएको तर्क थियो ।  अर्का अर्थविद् प्रा विश्वम्भर प्याकुरेलले सभासद्लाई दश लाख रुपैयाँ मात्र दिँदा विभिन्न बिवाद र टिप्पणी आइरहेको अवस्थामा पाँच करोड दिन नहुने धारणा राखे । योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्मा र अर्थविद् डा तिलक रावलले कुनै क्षेत्रको विकासको नाममा रकम दिनुभन्दा पनि योजना र कार्यक्रम बनाएर विकास निर्माण कार्य अगाडि बढाउनु पर्ने सुझाव दिए ।