एमाले उमेदवारको मनोनयन दर्ता आज, दुवै पक्ष प्यानल घोषणाको अन्तिम तयारीमा, निर्वाचन भोली

असार २६, काठमाडौँ –
संविधानसभाको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेको नवौं महाधिबेसनमा आजबाट निर्वाचन प्रकृया शुरु हुदैछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दिने, ३ बजे उमेदवारीको नाममा दाबी विरोध, छानबिनलगायतका काम सकेर दिउँसो ४ देखि साँझ ६ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने कार्यतालिका छ भने साँझ ७ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगका संयोजक सोमनाथ अधिकारीले जानकारी दिए ।

मतदान भने भोलि बिहान ८ बजेदेखि ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । नया नेतृत्वको लागि बरिष्ठ नेता माधबकुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल सहित चुनावी प्रतिष्प्रर्धामा छन् ।

यसैबीच निर्वाचन प्रक्रिया शुरु भएसँगै नेतृत्वका लागि आ आफ्नो पक्षबाट प्यानल घोषणाको अन्तिम तयारी भइरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली पक्षले आ आफ्नो प्यानलको औपचारिक घोषणा गर्न लागेको नेताहरुले बताएका छन् ।

यसअघि हिजो साँझ विधान संशोधन पारित गर्दै १५ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिंदैछन् । दुई पक्षको तयारी अनुसार नेपाल पक्षमा अध्यक्ष नेपालसहित महासचिवमा सुरेन्द्र पाण्डे तथा ५ उपाध्यक्षमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेलगायत रहेको जनाइएको छ ।

यसैगरी अर्को पक्षमा अध्यक्षमा नेता ओलीसहित महासचिवमा इश्वर पोखरेल, उपाध्यक्षहरुमा वामदेव गौतम, विद्या भण्डारी, प्रदिप नेपाल, पृथ्वी सुब्बा गुरुङलगायत रहने गरी तयारी भएको छ ।

१४ पदाधिकारीसहित १ सय ५९ केन्द्रीय नेताकोलागि हुने निर्वाचन भने आयोगले १० घण्टाको समय छुट्याएको छ । एकजना प्रतिनीधिले मतदान गर्न २० मिनेट समय लाग्न बताइएको छ ।