मागअनुसार गुणस्तरीय शिक्षा जरुरी : कार्यवाहक प्रधानमन्त्री गौतम

असार, २२ काठमाडौँ ।

कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकताअनुसारको गुणस्तरीय शिक्षा दिइनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ५५औँ वार्षिक दिवस समारोहका अवसरमा विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा उहाँले विश्वव्यापी रूपमा बढिरहेको गुणस्तरीय शिक्षाको मागअनुरूप विश्वविद्यालय अघि बढ्नुपर्ने बताएका हुन् ।

विसं २०६२÷६३ को जनआन्दोलनले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम गराएको र त्यसलाई संस्थागत गर्न संविधानसभाबाट संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्य भइरहेको उनले उल्लेख गरे । समृद्ध नेपालका लागि दक्ष जनशक्ति आवश्यक हुने र समयानुकूल गुणस्तरीय शिक्षाका माध्यमबाट मात्र दक्ष जनशक्ति तयार गर्न सकिनेतर्फ विश्वविद्यालयको ध्यान पुग्नुपर्नेमा उनको  जोड थियो ।

शिक्षामन्त्री चित्रलेखा यादवले आधा शताब्दी लामो शैक्षिक इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो पहिचान दिन सक्षम बनेको उल्लेख गरिन् ।     उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउन सोहीअनुरूपको शैक्षिक विधि खोज्नुपर्ने र वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने खाँचो रहेको औँल्याइन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले विश्वविद्यालयको प्रभावकारिता अभिवृद्धिका लागि विश्वविद्यालय सम्बद्ध सबै पक्षको सहयोग आवश्यक हुने बताए ।