जवानमाथिको छुवाछुतमा जिल्ला प्रहरीको निष्कर्ष ’मीठो भात नपकाएकाले ड्युटी परिवर्तन’

२२ असार, विराटनगर ।

धनुकटाको लडाँडाबजारसिथ्त ओखे प्रहरी चौकीमा कार्यरत जवानमाथि जातीय छुवाछुत नभएको भन्दै जिल्ला प्रहरी कार्यालयले ढाकछोपको प्रयास गरेको छ । धनकुटा प्रहरीको  छानविन टोलीले प्रहरी जवान युवराज परियारले मीठो भात नपकाएकाले चौकी इन्चार्जले ड्युटी परिवर्तन गरेको निष्कर्ष निकालेको छ ।

कोसी अञ्चल प्रहरीको निर्देशनमा धनुकटा प्रहरीले आन्तरिक छानबिन टोली गठन गरेको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सो टोलीले चौकी इन्चार्ज अवराज कार्कीले जवान परियारलाई दलित भएकै कारण छुवाछुत नगरेको निष्कर्ष निकालेको हो ।

तर छानविनका लागि पुगेको प्रहरी निरीक्षकको टोलीलाई अन्य जवान र स्थानीय जातीए भेदभाव भएको बताएको स्रोतको भनाई छ । सहकर्मी प्रहरीले भेदभाव भएको बताएपनि टोलीले परियारले मीठो भात नपकाएकाले अर्को ड्युटीमा खटाएको निष्कर्षसहितको प्रतिवेदन जिल्ला प्रहरीमा बुझाएको छ ।

एक महिनापहिले इन्चार्ज कार्कीले जवान परियारलाई आफ्नो कोठामा बस्न नदिने, विभेदपूर्ण भाषा प्रयोग गरेर होच्याउने र मेसमा भात पकाउनबाट रोक लगाउने काम गरेर जातीय छुवाछुत गरेको समाचार सार्वजनिक भएको थियो । स्रोतका अनुसार धनकुटा प्रहरी प्रमुख एसपी इश्वरी चापागाईँले नै घटनालाई सामान्य रुपमा लिएर छुवाछुत नभएको प्रतिवेदन बनाउन लगाएका हुन् ।

उनले मेसमा भात पकाउन नपाउँदा जवान परियारले दलित भएकाले हीनताबोध गरेर छुवाछुत गरेको ठानेको तर त्यस्तो नभएको प्रतिवेदन तयार गराएका हुन् । एक दुई महिनापछि सईमा बढुवा हुने सूचीमा रहेका कार्कीलाई जोगाउन एसपी चापागाई लागिपरेको स्रोतको भनाई छ ।