बहुपदीय राजनीति विस्तार गर्दै एमाले

२० असार, काठमाडौँ ।

पहिलोदेखि चौथो महाधिवेशनसम्म सैद्धान्तिक अस्पष्टताका कारण विवादमा घेरिएको नेपाल कम्युनिष्ट पार्टी हालको ९एमाले०ले त्यसयता जारी नवौं महाधिवेशनसम्म आइपुग्दा नीतिगत हिसावले फड्को मारेको छ ।

यसबीच एकपदीय कम्युनिष्ट सिद्धान्तको घेराबाट बाहिर निस्केर पार्टी बहुपदीय संरचनामा प्रवेश गरेको छ, जसलाई नवौं महाधिवेशनले अझ फराकिलो पार्ने संकेत मिलिसकेको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जवजपछि मात्र नेपाल कम्युनिष्ट पार्टीले नीतिगत रुपमा स्पष्ट बाटो पहिल्याएको हो । २०१० सालमा भएको पहिलो महाधिवेशनले २००७ सालको क्रान्तिबाट प्राप्त मुख्य उपलब्धिलाई जोगाउने कार्यनीति लिएको थियो ।

उक्त महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवका रुपमा निर्वाचित गरेपछि पार्टीमा गुटबन्दी देखियो । पार्टी भित्र देखापरेका दुई धारमध्ये एउटाको नेतृत्व पुष्पलाल र अर्कोको नेतृत्व केशरजंग रायमाझीले गरे । त्यही दुई धार र गुटबन्दीका कारण महाधिवेशनले तय गरेको कार्यक्रम कार्यान्वयन हुन सकेन ।

पहिलो महाधिवेशन काठमाडौँ र पाटनमा भूमिगत हिसावले भएपनि २०१४ सालको दोस्रो महाधिवेशन काठमाडौको फोहरा दरबारमा खुला हिसावले आयोजना गरिएको थियो । पहिलो महाधिवेशनले निर्वाचित गरेका अधिकारी भने उपचारका क्रममा चीनमा रहेकाले दोस्रोमा अनुपस्थित थिए ।