सहमतिमा नयाँ संविधान : प्रचण्ड

७ असार, काठमाडौं ।

 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान लेखन प्रकृया बाहिर रहेका दलहरुको सहमतिबिना नयाँ संविधान बन्न नसक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले दुई तिहाइको आधारमा मात्र नयाँ संविधान आउँछ भन्नु बेकामे कुरा मात्र हुने प्रस्ट्याएका छन् ।

कृष्ण केसीद्धारा लिखित पुस्तकको शनिवार काठमाण्डौंमा विमोचन गर्दै प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरुलाई सहभागि नगराई नयाँ संविधान बनाउन खोजिए त्यो मुलुकका लागि दुर्भाग्य हुने समेत चेतावनी दिए । कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सवै दलको सहमतिमा तोकिएकै मितिमा नयाँ संविधान जारी हुने दाबी गरेका छन् । वैद्य नेतृत्वको नेकपा माओवादीको माग पनि सम्वोधन गर्नुपर्ने नेता पाण्डेले बताए ।

तोकिएकै मितिमा नयाँ संविधान जारी गर्न सबै दलहरु थप लचक हुनुपर्ने उनको जोड थियो । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने कांग्रेस–एमालेले तोकीएको मितिमा नयाँ संविधान दिनै नसक्ने जिकिर गरेका थिए । संविधान बनिहाले पनि त्यो आफुहरुलाई मान्य नहुने गजुरेलको चेतावनी थियो ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि तोकिएको समयमा संविधान जारी हुन नसक्ने दाबी गरेका थिए । कार्यक्रममा मानव अधिकारवादीहरुले भने नयाँ संधिवानमा मानवअधिकारका मुद्धालाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए ।