अन्तर्राष्ट्रिय हाइ स्कुल कराते आजदेखि

जेठ १३, काठमाडौ–नेपाल सितोरियो कराते डो संघअन्तर्गतको हाइ स्कुल कमिटीको आयोजनामा २०
औं अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगिता आजदेखि सुरु हुदैछ ।
प्रतियोगितामा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर गरी कूल ५३ स्वर्णका लागि
प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष ईश्वर थापाले जनाएका छन् ।  चिल्ड्रेनको पुरुष
र महिलामा ५–५, क्याडेटको पुरुषमा ८ र महिलामा ६, जुनियरको पुरुषमा ९ र
महिलामा ७ तथा सिनियरको पुरुषमा ७ र महिलामा ६ स्वर्णका लागि भिडन्त हुनेछ ।
प्रतियोगितामा तीन दक्षिण एसियाली राष्ट्रका ९ सय ९९ खेलाडीको सहभागिता रहनेछ ।
नेपालबाट ६ सय २१, भारतबाट ३ सय ६५ तथा बंगलादेशबाट १३ खेलाडीको सहभागिता
निश्चित भइसकेको आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।