लोकतन्त्र दिवस, संविधान समयमै जारी गर्ने प्रधानमन्त्री कोइरालाको प्रतिबद्धता

वैशाख ११, काठमाडौ– नेपाली जनताको व्यापक सहभागिता र वलिदानबाट प्राप्त लोकतन्त्र नवौं वर्षमा प्रवेश गरेको छ ।
२०६२/६३ सालमा शान्तिपूर्ण जनक्रान्ति भएको ८ वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ ।
यसै अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनुकूल वातावरण सिर्जना गर्दै वर्तमान सरकार मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी विकासको गतिलाई तीव्रता दिन अग्रसर रहेको बताउनुभएको छ ।
सन्देशमा प्रधानमन्त्रीले अब बन्ने संविधानमा नेपाल र नेपालीको भाग्य सुनिश्चित गर्ने ऐतिहासिक जिम्मेवारी दोस्रो संविधानसभाको निर्वाचनले सुम्पिएको बताउनुभएको छ ।
सविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले निर्वाचित गरेका राजनीतिक दलका प्रतिनिधिबीच एक वर्षभित्र सङ्घीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान जारी गर्ने विषयमा महत्वपूर्ण सहमति कायम भएको सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति परमानन्द झाले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सम्बद्र्धनका लागि सबै नेपालीको एक्यबद्धता र सहयोगको लागि आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालीहरूको शान्ति, मैत्री, सद्भाव र एकतालाई अझ प्रगाढ बनाउादै अघि बढ्न लोकतन्त्र दिवसले सबैलाई ऊर्जा र प्रेरणा प्राप्त भइरहोस् भन्ने कामना गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले २०६२/६३ को जनआन्दोलनको भावना तथा संविधानसभा निर्वाचनमार्फत अभिव्यक्त जनचाहनाअनुरुप एक वर्षभित्रै संविधान जारी गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
लोकतन्त्र दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहााले लोकतन्त्रका लागि पटकपटक सङ्घर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दलहरुको आपसी एकता, सहकार्य र सहमतिका आधारमा निर्धारित समयमै संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।