व्यवस्थापिका संसद् बैठक

वैसाख ५, काठमाडौ–व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारले द्वन्द्वकालका घटनाको छानबिन गर्न बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेस गरेको छ । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले ‘बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७०’ पेस गर्नुभएको हो । प्रमुख दलका नेताहरुबीच आजै संविधानसभा भवनमा भएको छलफलमा द्वन्द्वकालका मुद्दाको छानबिन र सत्य निरुपण आयोग मार्फत नै सबै प्रक्रिया अगाडि बढाउने सहमति भएपछि दुई दिनदेखि अवरुद्ध बैठक सञ्चालन भएको हो । आगामी दिनमा द्वन्द्वकालका मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गरिने र सामान्य कानुनअनुसार कुनै पनि मुद्दा नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गरेपछि संसद् बैठक सञ्चालनका निम्ति आफूहरु सहमत भएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।उहााले द्वन्द्वकालका कुनै पनि मुद्दा सामान्य कानुनअनुसार नचलाउने र ती सबै मुद्दा तथा विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाउने विषयमा सरकारले गरेको सहमति व्यवहारत: कार्यान्वयन गर्नुपर्ने र त्यसो हुन नसके आफूहरु पुन: सङ्घर्ष गर्न बाध्य हुने बताउनुभयो । गोरखा, बारा कैलाली र महोत्तरीमा आफ्ना नेता तथा कार्यकर्तालाई मुद्दा लगाइएको भन्दै उहााले आपत्ति जनाउनुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही वैशाख ७ गते दिउासो २ बजे बस्ने कार्यक्रम रहेको छ ।