चितवनमा धर्ना

वैसाख ३, चितवन–फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी चितवनले संयुक्त रुपमा जिल्ला प्रशासनमा धर्ना दिएका हुन् । द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरेर मात्र अनुसन्धान गरिनुपर्ने भन्दै उनीहरुले पक्राउ परेकाको तत्काल रिहाइ हुनुपर्ने माग गरेका छन् ।
छविलाल पौडेल, भीमसेन पौडेलसहित १३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा अभियोगपत्र दर्ता भएको छ । अधिकारी परिवारले सुरुमा ११ जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीको अनुसन्धानबाट तीन जना थप भएको थियो भने परिवारले नै गृहमन्त्रालयमा दिएको उजुरीमा जानुका पौडेलको नामसमेत उल्लेख गरिएको थियो । प्रहरी प्रतिवेदनमा उल्लेख भएका तीन अभियुक्तमध्ये दुई जना सशस्त्र द्वन्द्वमा मारिएका कारण १३ जनाविरुद्ध मात्र अदालतमा अभियोगपत्र दर्ता भएको जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले जानकारी दिए ।
बयानपछि थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठलगायत २० जना वकिल तयारीमा रहेका छन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले २० जनाभन्दा बढीले प्रतिवादीकातर्फबाट बहस गर्ने बताए । प्रहरीले यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेलविरुद्ध आतङ्ककारी तथा विध्वङ्सात्मक अपराधअन्तर्गत मुद्दा चलाएकामा अहिले भने उनीहरु विरुद्ध ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा १ अर्थात् सर्वस्वसहित जन्म कैदको मागसहितको मुद्दा चलाएको छ ।