नेपाल एएफसी यु-१६ को दोस्रो चरणमा प्रवेश

असोज, १३ काठमाडौं । युवा स्ट्राइकर तथा यु–१६ का कप्तान विमल घर्ति मगरको ह्याट्रिकसँगै नेपाल एएफसी यु-१६ को दोस्रो चरणमा प्रवेश गरेको छ।

तुर्कमिनिस्तानविरुद्ध ४-० गोलले विजयी हुँदै नेपाल २००६ पछि दोस्रो चरणमा प्रवेश पाएको हो। विमल घर्ति मगरले खेलको ४७औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएको थियो।

खेलको ५१औं मिनेटमा दोस्रो गोल गरेका उनले ८०औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक गरेका हुन्। खेलको ७४औं मिनेटमा दिनेश राजवंशीको प्रहार पनि गोलमा परिणत भएको थियो।

नेपालले यसअघि बहराइनलाई २-० ले पराजित गरेको थियो भने इराकसँग बराबरी खेलेको थियो।