थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति

 

असार ८ ,काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप २०१७ प्लेअफ खेल्नबाट वञ्चित गरिएकामा थ्रीस्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने बुधबार सहमति भएको छ ।

‘विवाद अन्त्य गर्दै फुटबलमा फर्किनेमा सम्झौता भएको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टको रोहबरमा एन्फासँग सम्झौता भएपछि थ्रीस्टारका महासचिव सन्जिव शिल्पकारले भने, ‘क्षतिपूर्तिस्वरुप क्लबलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फा सहमत भएको छ ।

कम्तीमा दुई वा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा थ्रीस्टारलाई सहभागी गराउने सहमति पनि भयो ।’
मंगोलियामा अगस्ट २०१६ मा भएको प्रारम्भिक चरणको छनोटमा समूहमा शीर्षस्थान हासिल गर्दै थ्रीस्टार महादेशीय प्रतियोगिताको अन्तिम छनोट (प्लेअफ) मा पुगेको थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले चारपल्ट पत्राचार गर्दा पनि एन्फाले २३ नोभेम्बरसम्म टिम दर्ता नगरेपछि थ्रीस्टार अन्तिम छनोट खेल्नबाट वञ्चित भएको थियो । त्यसपछि थ्रीस्टारले ६ करोड क्षतिपूर्ति माग गर्दै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको थियो । एन्फासँगै धेरैपल्ट वार्ता भए पनि लामो समय समाधान निस्केको थिएन ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता इन्द्रमान तुलाधरले सहमति भएको उल्लेख गर्दै कानुनी प्रक्रिया पुर्‍याएर सम्झौता सार्वजनिक गर्ने बताए । सातदोबाटोमा भएको सहमतिमा उनीसहित एन्फाका महासचिव धिरेन्द्र प्रधान, कानुनी सल्लाहकार सुजित केसी तथा थ्रीस्टारका कार्यवाहक अध्यक्ष अरूणमान जोशी, उपाध्यक्ष निर्मलरत्न शाक्य, महासचिव शिल्पकार र कानुनी सल्लाहकार मंगल महर्जन उपस्थिति थिए ।

महासचिव शिल्पकारका अनुसार एन्फाले कानुनी प्रक्रिया पूरा गर्दै थ्रीस्टारलाई दुई किस्तामा रकम उपलब्ध गराउने छ । ‘दुई साताभित्र कानुनी प्रक्रिया पूरा गरी पहिलो किस्ताको क्षतिपूर्ति रकम दिने एन्फाले बताएको छ,’ उनले भने, ‘दोस्रो किस्ता एन्फाको अक्टोबरमा हुने साधारणसभाअघि दिने भनेको छ ।’ सीईओ तुलाधरले क्षतिपूर्ति रकम खुलाउन चाहेनन् र कार्यसमिति बैठकले निर्णय गरेरपछि मात्र उपलब्ध गराउने बताए । ‘टिकट बिक्री, बचत र प्रायोजनबाट क्षर्तिपूर्तिको व्यवस्था गर्नेछौं,’ उनले भने ।

साभार —कान्तिपुर दैनिक