योगले विश्वलाई जोड्छ : मोदी

 

असार ८  एजेन्सी  : विश्वका एक सयभन्दा बढी देशमा बुधबार अन्तर्राष्ट्रिय योगदिवस मनाइएको छ । एसिया, युरोप र अमेरिकाका अधिकांश भागमा योगदिवस भव्यतापूर्वक मनाइएको छ । केही वर्षअघिसम्म दक्षिण एसियामा निकै प्रचलित योगले हाल विश्वव्यापी रूप लिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगले विश्वका नागरिकलाई जोड्ने बताएका छन् । उनले विश्व योगदिवसको अवसरमा बुधबार दिएको सन्देशमा यस्तो धारणा राखेका हुन् । बुधबार विश्व योगदिवसको अवसरमा अहमदावाद सहरमा १ लाख २५ हजार व्यक्ति योगका लागि उपस्थित भएका थिए । उनीहरूले बिहान योग गरेरै दिवस मनाउने कार्यक्रमको सुरुवात गरेका थिए ।

सबैभन्दा धेरै व्यक्ति एकै स्थानमा बसेर योग गरेको घटनालाई गिनिज वल्र्ड रेकर्डमा राख्ने उद्देश्यले बुधबार विश्व योगदिवसकै दिन पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो । ‘योगले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ । त्यसैले योगकै माध्यमबाट विश्वका नागरिकलाई पनि एकै स्थानमा ल्याउने र भावनात्मक रूपले जोड्ने काम गर्दछ’, उनले भने ।

यस अभियानको नेतृत्व भारतका योगगुरु बाबा रामदेवले गरेका थिए । उनी त्यस समारोहको मञ्चमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँगै योगाभ्यास गरेका थिए । यस वर्षको यो दिवस तेस्रो विश्व योगदिवस हो । यो दिवस विश्वका करिब १ सय देशमा मनाइएको छ । यस अभियानअन्तर्गत प्रधानमन्त्री मोदी बुधबार बिहान लखनउ आइपुगेका थिए । उत्तर प्रदेशको राजधानी लखनउ हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले यहाँ गतवर्ष भएको निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको थियो ।

योग चर्चाकै क्रममा मोदीले मोदीले योगले भारतलाई संसारसँग जोडेको बताएका छन् । निकै ठूलो भीड रहेको योगाभ्यासी समूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगले नै जोड्ने काम गरेकोछ।
भारतीय टेलिभिजनले बुधबार देशैभरि योगासन गरिरहेका दृश्य देखाएका छन् । सैनिक एवं प्रहरीका क्याम्प, स्कुल कलेज, मठमन्दिर आदिमा पनि योगाभ्यास गरिएका थिए ।