भूक्षय विश्वकै चुनौती भएकोले यसलाई रोक्न विश्वव्यापी अभियान थालिनुपर्छ : मन्त्री वस्नेत

भदौ, २६ काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूक्षय विश्वकै चुनौतीका भएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अघि सारेका छन् । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले भूक्षयका कारण वातावरणीय दुस्प्रभाव बढ्नुकासाथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्नेमा जोड दिए।

‘भूमियोग्य जनिमको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौं मानिसहरुको जीविकामाथि गम्भीर चुनौती खडा भइरहेकोछ,’ मन्त्री वस्नेतले भने, ‘विश्वभर कृषियोग्य जमिन घट्दै जाँदै उत्पादकत्व घटेको छ । यो चिन्ताको विषय हो । सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिक रुपमा दिर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गरिनुपर्छ ।’

उनले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताए।उनले राष्ट्रिय संकल्पका रुपमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराभित्र भू–संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरे।

नेपालको कूल क्षेत्रफलको ४४ दशमलब ७४ प्रतिशत भू–भाग वन क्षेत्र र २ दशमलब ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रले ओगटेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसलाई नघटाइने प्रतिबद्धता जनाए। नेपालले समुदायमा आधारित वन व्यवस्थापनमा विश्वमै नमुनायोग्य काम गरेको चर्चा गर्दै उनले वन क्षेत्रबाट उत्पादित लाभहरुको समुचित वितरणमा ध्यान दिइएको बताए। भू–क्षयको चुनौती सामना गर्न नेपालले माटो र पानीको स्रोत संरक्षण, वन र दिगो भूमि व्यवस्थापन, वातावरण संरक्षण तथा मौसम परिवर्तनसम्बन्धी नीति, ऐन र नियमहरु बनाएर लागू गरेको जानकारी सम्मेलनलाई गराए।

मन्त्री बस्नेत सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागी भएका हुन । सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् । सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका थिए। नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो ।