क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिकको मुत्यु

माघ ५, एजेन्सी – यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा परी शनिबार उनीहरूको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।

शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरूमा भने हुथी विद्रोहीहरूले जिम्मेवारी लिने गरेका थिए ।

सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ ।

रासस